राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा मतदान हुँदै


काठमाडौँ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे सुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ ।

प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन् । उनी सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिनुभयो ।

स्वतन्त्र संसद दीपक मनाङे पनि अनुपस्थित छन् । अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।