राजनीति

कांग्रेसका केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिएपछि कार्यसमितिको बैठक स्थगित


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो । कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

गत सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पीसीआर गर्ने भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो । १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको कांग्रेस पछिल्लो समय निरन्तर छलफलमा रहेको छ ।