राजनीति

एकै दिन तीन शीर्ष दलको बैठक


काठमाडौँ – एकै दिन तीन शीर्ष दल नेपाली नेकपा एमाले र माओवादी केन्द्र र नेपाली कांग्रेसले बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार (आज) केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो । त्यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आज नैै बस्न लागेको हो ।

एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको ओली निकट केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने बताइएको छ ।
यता माओवादी केन्द्रले पनि आज नै दिउँसो १ बजे स्थायी समिति बैठक बोलाएको छ । कार्यालय सचिव श्रीराम ढकालका अनुसार स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीले सम्भवतः सोमबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने आँकलन गरिएको छ ।
उता कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्दैछ । आइतबार स्थगित भएको कांग्रेस बैठक आज दिउँसो ४ बजे बस्ने नेताहरूले बताएका छन् । हिजो बैठक रोकेर कांग्रेस शीर्ष नेताहरू दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । स्थगित भएको बैठक आज बस्न लागेको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाल पौडेलले जानकारी दिनुभयो । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।