Breaking

अमेरिकामा एक शेर्पाको चर्चा, जसले ट्याक्सीमा दन्किरहेको आगो निभाए

योहो संवाददाता

काठमाडौँ – सोलुखुम्बु गोराखानी घर भएका ल्हाक्पा रिन्जी शेर्पाको यतिबेला अमेरिकामा चर्चा भइरहेको छ ।

न्युयोर्कको व्यस्त लागार्डिया विमानस्थलमा साहसिक काम गरेको भन्दै उनको अमेरिकामा चर्चा भइरहेको हो ।

गत मंगलबार लागार्डिया विमानस्थलको पार्किङस्थलमा एउटा कारमा अचानक आगलागी भयो। कारमा आगलागी भएपछि पार्किङस्थल धुँवाले भरिएको थियो । आगलागीबाट त्रसित भएकाहरू भागदौड गरिरहेका बेला शेर्पा आगलागी नियन्त्रणमा जुटेका थिए ।

फायर एक्स्टीङ्गगुइसर

(आगो निभाउने उपकरण) लिएर उनले ट्याक्सीमा दन्किरहेको आगो निभाए। विमानस्थलमा हुनसक्ने ठूलो क्षति उनको साहसिक कामले टरेको थियो ।

उनको साहसिक काम देखेर धेरैले मोबाइलमा भिडियो कैद गरी सामाजिक सञ्जालमा हालेका थिए। सामाजिक सञ्जालदेखि मिडियामा उनलाई ुहिरोुको उपनाम दिइएको छ ।

शेर्पाले आफ्नो अनुभवका कारण आगलागी नियन्त्रणमा जुटेको बताए । नेपालमा रहँदा एयरलाइन्समा काम गर्दा आफूसँग आगो नियन्त्रण गर्ने लामो अनुभव रहेको शेर्पाले बताए ।

“आगो निभाउने अनुभव मसँग थियो । त्यसको प्रशिक्षण पनि मैले लिएको छु । धुँवाको मुस्लो देखेर सबैजना भागदौड गरिरहेका बेला म आगो नियन्त्रमा जुटेको थिएँ । आगलागी नियन्त्रण बाहिर जाँदा धेरै क्षति हुनसक्थ्यो । त्यसैले म भागिनँ र आगलागी नियन्त्रणमा आयो,” उनले भने ।

उनले विदेशमा नेपाल र नेपालीको शीर उचो पारेकोप्रति आफू खुसी भएको प्रतिक्रिया दिए । “मेरो साहस देखेर अहिले सामाजिक सञ्जाल र मिडियामा पनि चर्चा चुलिएको छ । यसले नेपाल र नेपालीको शान बढाएको अनुभव भइरहेको छ,” उनले थपे ।