काठमाडौँ — मस्कोको उत्तर–पश्चिम इलाकामा भएको एक विमान दुर्घटनामा वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति भएको विमान दुर्घटनामा मृत्यु भएको हो । येभगेनी प्रिगोजिनको मृत्युसँगै मिश्रित प्रक्रियाहरु आईरहेका छन् । रुसमा भएको नीजि विमान दुर्घटना हुँदा वाग्नर समूहका कमाण्डर येभगेनी प्रिगोजिनसहित विमानमा सवार रहेकाहरुको मृत्यु भएको छ ।
विमानमा सात यात्रीसहित चालक दलका तीनजना सवार थिए । येभगेनीसंगै दुर्घटनामा सिरियामा वागनरबाट लडेका प्रभावशाली लडाकु दिमित्री उत्किन पनि परेका छन् । उनकै उक्साहटमा प्रिगोजिनले मस्को लक्षित आक्रमण थालेको बताइन्छ । यस हवाइ दुर्घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । कतिपयले रूसलेनै उक्त विमान खसालेको भनेका छन् । अमेरिकी जासुसी संयन्त्र सीआईएका प्रमुख विलियम बर्नसले प्रिगोजिनले पुटिनसँग बदला लिन खोजेको भनेका छन् । यो घटनाको पछाडी पुटिनकै हात रहेको उनको जिकिर छ ।
वागनर समूहले मस्को लक्षित आक्रमण गरेसँगै त्यस लडाकु दस्तालाई युक्रेनमा कमै जिम्मेवारी दिइएको थियो । युक्रेनपछि वागनर समूह अफ्रिकाको मिसनमा केन्द्रित थियो । केही हप्ता अगाडी मात्रै प्रिगोजिनले रुसी रक्षामन्त्रीविरुद्ध विद्रोह गरेका थिए । युक्रेनको लडाइँमा अग्रपंक्तिमा रहेको वागनरलाई रुसको रक्षामन्त्रालयले पर्याप्त हतियार उपलब्ध नगराउँदा आफ्ना धेरै सदस्य मारिएको भन्दै त्यसको मूल्य रुसले चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
प्रिगोजिन एक रेस्टुरेन्टका मालिक थिए । उनको रेस्टुरेन्ट चाँडै धेरै प्रसिद्ध भयो । रेष्टुरेन्टको लोकप्रियता यति बढ्यो कि रुसी राष्ट्रपति पुटिन आफैंले विदेशी पाहुनालाई येभगेनीको रेष्टुरेन्टमा खान लैजान थाले । यसरी उनी रुसी राष्ट्रपति पुटिनको नजिक पुगेका थिए । पुटिनसँगको आफ्नो निकटताको फाइदा उठाउँदै, खानपानको व्यवसाय सुरु गरे र रूसी सेना र स्कूलका बच्चाहरूलाई खुवाउन सरकारी ठेक्का लिन थाले ।
जसका कारण उनलाई पुटिनको भान्सेको रुपमा चिनिन्थ्यो । यी नै होटलका मालिक थिए जसले रूसी सेनाको समर्थनमा एक निजी सेना बनाए, जसलाई वाग्नर समूह नाम दिइएको थियो । यस निजी सेनामा सेवानिवृत्त सैन्य अधिकारी र जवानहरू समावेश थिए । वाग्नर समूहले सिरिया, लिबिया, माली र मध्य अफ्रिकी देशहरूमा पनि क्रूर मिसनहरू गरेको आरोप छ । येभगेनीको मृत्युपछि अहिले त्यस समूहलाई अरुले हाँक्नै नसक्ने टिप्पणी भइरहेको छ ।
पूर्व हवाइ मार्सल तथा सैन्य विश्लेषकले वागनरको भविष्यबारे टिप्पणी गर्दै भनेका छन् । प्रिगोजिनको उपस्थिति बिना वागनर समूह केही पनि होइन । प्रिगोजिनबिना वागनर दाह्रा र नंग्रा भाँच्चिएको बाघझैँ हुनेछ । अब त्यस लडाकु दस्ताको पतन हुने मार्सलको भनाई छ । लामो समय देखि युक्रेन विरुद्धको लडाईमा अग्रपंतिमा लडेका येभगेनीको मृत्युले रुसको सैन्य क्षेत्रमा ठुलो धक्का पुगेको छ ।


प्रतिक्रिया