देश

जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी ईश्वरी सुनारको मृत्यु


काठमाडौँ — जंगली च्याउ खाएर गम्भीर बिरामी भएकी बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनारको मृत्यु भएको छ । उनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गत साउन २८ गते साँझ बंगलाचुली-४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर उनीसँग उनका ३१ वर्षीय श्रीमान अजय सुनार र ११ वर्षीय छोरी अस्मिता सुनार गम्भीर बिरामी भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमका अनुसार २८ गते साँझ उनीहरूले च्याउ ल्याएर खाएपछि २९ गतेदेखि बिरामी भएका थिए । त्यसपछि उनीहरू उपचारका लागि ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आएका थिए ।

सोही दिन राति करिब साढे ९ बजेतिर छोरीको गम्भीर अवस्था भएपछि उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उनको साउन ३१ गते उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको थियो। त्यस्तै उनका बुवा अजयको अहिले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक ईश्वरीका एक वर्ष नपुगेका एक छोरा, ८ वर्षीया र ४ वर्षीया दुई छोरी छन् ।