Breaking

रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर


काठमाडौँ — सर्वोच्च अदालतले २०७२ साल भाद्र ७ गते भएको कैलालीको टीकापुरमा भएको नरसंहार रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेका छन् । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत जेठ २ गते रेशम चौधरीसहितका केही व्यक्तिलाई जन्मकैदको सजाय हुने यसअघिको जिल्ला अदालत कैलाली र उच्च अदालत डोटी दीपायलकै फैसला सदर गरेको थियो ।

जसको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो । फैसलाको पूर्णपाठमा भनिएको छ ूवारदातमा यी प्रतिवादीको भूमिका हेर्दा रेशमलाल चौधरीले मुख्य भइ सङ्गठित रूपमा योजना बनाएको र वारदातमा आफैं उपस्थित भइ सुरक्षाकर्मीलाई प्रहार गरेको र गर्न लगाएको देखिन आउँछ ।

निजको नेतृत्वको भीडले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि योजनाबद्ध ढङ्गले आक्रमण गरेको र भीडसमक्ष आत्मसमर्पण गरी जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई यी प्रतिवादीहरूको समूहले लाठी ढुङ्गा, बन्चरो, प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल,मट्टितेल खन्याई जलाउने र शवहरू क्षत-विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय,कुर र निर्मम ढङ्गले ज्यान मारेको,सो क्रममा एकजना अवोध शिशुको समेत ज्यान लिएको एवम् अन्य ३६ जना प्रहरी कर्मचारीलाई ज्यान मार्ने नियतले आक्रमण गरेको देखिन आई निज प्रतिवादी रेशमलाल चौधरी उपरको आरोपित कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो ।

३ वटा अदालतले दोषी ठहर गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीलाई सरकारले रिहा गर्ने घोषणा गरेर राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । जस्को देशभर आलोचना भएको थियो । अहीले सर्वोच्चको फैसला बाहिरिएपछि रेशम चौधरीलाई सरकारले दिएको आममाफीमाथि सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ ।