देश

कक्षा १२ को नतिजा आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी


काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गएको वैशाख २६ गतेदेखि शुरु भइ जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज बेलुकासम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको र प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ ।देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो साढे ४ बजेका लागि बैठक बोलाइएको बोर्डले जनाएको छ ।