काठमाडौँ — एक क्वीन्टल सुन तस्करी प्रकरणबारे अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम उक्त घटनामा सिआइबीले अनुसन्धान गर्न लागेको हो । त्यस विषयमा हिजो राति प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना लगायतसँग छलफल गरेका थिए ।
छलफलमा विभागले एक चरणको अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्याएकाले बाँकी संगठित अपराध र अन्तरदेशीय अपराधमा प्रहरीको अधिकारप्राप्त निकाय सिआईबीलाई नै अनुसन्धान दिँदा उपयुक्त हुने सुझाव आएको थियो । प्रधानमन्त्री दाहालले सोही सुझावका आधारमा अनुसार अघि बढ्न ती अधिकारीहरुलाई भनेका छन् ।
प्रहरी उच्च श्रोतका अनुसार प्रधानमन्त्रीबाट सिआईबीलाई अनुसन्धानको संकेत मिलिसकेको तर औपचारिकरुपमा अनुसन्धान गर्न भनेर आइसकेको भने छैन । फाइललगायत अनुसन्धानका सबै विषय हस्तान्तरण भएर आउनुपर्छ, त्यसपछि बल्ल सिआईबीले अनुसन्धान थाल्छ, तर अब छिट्टै सिआईबीले अनुसन्धान थाल्छु, उनले भने यसअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठित अपराध भएकाले उक्त घटना सिआईबीले अनुसन्धान गर्नुपर्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराएका थिए। सोही आधारमा गृहमन्त्रीले यो कुरा प्रधानमन्त्री दाहालसम्म पुर्याएका थिए ।


प्रतिक्रिया