Breaking

चीनका विदेशमन्त्री बेपत्ता, अमेरिकी टिभी एङ्करसँगको प्रेम सम्बन्ध रहेको चर्चा

योहो संवाददाता

काठमाडौँ — बेपत्ता एक प्रमुख पात्र एवम् राष्ट्रपति सी जिनपिङको नजिकका छिन काङ बेपत्ता भएको करिब एक महिना पछि विदेशमन्त्रीको पदबाट हटाइएको छ । छिन काङको स्थानमा कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यी पुनः विदेशमन्त्री नियुक्त भएका छन् । चिनका राष्ट्रपति सी जिनपिङको नजिकका व्यक्ति छिन काङ अहिले कहाँ छन्, पत्तो छैन । चीनका विदेशमन्त्री छिन ग्याङले एक महिनादेखि निश्चित कार्यक्रममा विदेशी नेतासँग भेटघाट नगरेका मात्र हैन, सार्वजनिक रूपमा समेत उनी देखिएका छैनन् ।

चीनको विदेश मन्त्रालय पनि उनको बारेमा केही बताउन चाहेको छैन, जसका कारण अनुमानको सिलसिला तीव्र भएको छ । ५७ वर्षीय विदेशमन्त्री छिनका लागि अमेरिकी टिभी एङ्करसँगको प्रेम सम्बन्ध रहेको चर्चासमेत कतिपय संचारमाध्यमले गरिरहेका छन् । कतिपयले छिनको लोकप्रियताका कारण उनी राष्ट्रपतिको कोपभाजनमा परेको बताएका छन् । यस्तो हो भने चीनमा फेरि एकपटक ठूलो फेरबदल हुन सक्छ । मिडिया रिपोर्टका अनुसार छिन संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा छोटो कार्यकालपछि डिसेम्बरमा विदेश मन्त्रीमा बढुवा भएका थिए ।

छिन एक पेशेवर कूटनीतिज्ञ हुन् र उनलाई चिनियाँ नेता सी जिनपिङको भरपर्दो सहयोगी मानिन्छ । विदेश मन्त्रीको रूपमा उनले अमेरिकामा प्रक्षेपण गरिएको संदिग्ध चिनियाँ जासूस बेलुनको मुद्दामा वाशिंगटनको आलोचनासमेत गरेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो । तर, उनले दुई पक्षबीचको तनावपूर्ण सम्बन्ध सुधार र वार्ता पुनःस्थापनाका प्रयासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । चीनमा वरिष्ठ नेता बिना कुनै स्पष्टीकरण यति लामो समयसम्म सार्वजनिक रूपमा नआउनु अस्वाभाविक भने होइन ।

सन् २०१२ मा वर्तमान रास्ट्रपति सी जिनपिङ पनि यस्तै गुमनाम भएका थिए । सेप्टेम्बर १ देखि सी गुमनाम भएका थिए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनजस्ता विदेशी नेताहरूसँगको पूर्वनिर्धारित बैठकमा उनी सरिक भएका थिएनन् । त्यसको दुई सातापछि सेप्टेम्बर १५ मा उनी सार्वजनिक रुपमा देखापरे भने १५ नोभेम्बरमा चीनको राष्ट्रपतिमा चयन भएका थिए । छिन काङ चिनियाँ सरकारमा चर्चित अनुहार थिए । उनको अनुपस्थितिको चर्चा कूटनीतिक वृत्तमा मात्रै नभएर आम चिनियाँ जनतामा पनि चलिरहेको छ ।

उनलाई गत डिसेम्बरमा सी जिनपिङले विदेशमन्त्री नियुक्त गरेका थिए र एक महिनाअघि उनले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटेका थिए । उक्त भेटमा दुई देशले उच्च स्तरमा कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका थिए । एक महिनाअघि चिन इन्डोनेसियामा भएको बैठकमा भाग लिनुपर्ने थियो तर उनी त्यहाँ पुगेनन् । उनलाई ‘केही स्वास्थ्य सम्बन्धी समस्या’ भएको जानकारी दिइएको थियो ।

यसबारे उनको मन्त्रालयले कुनै खास जानकारी दिएको छैन, तर धेरैले उनलाई राजनीतिक कारणले उनलाई सजाय दिइएको वा विवाहेत्तर सम्बन्धका कारण यस्तो भएको हुनसक्ने अनुमान धेरैले लगाए । राष्ट्रपति सी चिनपिङका निकट मानिएका काङ अचानक बेपत्ता र पदबाट बर्खास्तमा परेपछि यसबारे विभिन्न टीकाटिप्पणी हुन थालेको छ ।