काठमाडौँ — पानीका लागि उपयुक्त जग्गा मानिएको तराई मधेशमा खानेपानीको हाहाकार मच्चिएको छ । मनसुन सक्रिय हुँदा पहाडी र हिमाली क्षेत्रमा वर्षा भईरहेको भएपनि तराई मधेशमा भने पानी नपरेको र लगातारको गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेका छन्, घरघरमा कलहरु सुकेर पानी आउन छाडेका छन् । अत्याधिक गर्मीसँगै सुख्खा जमिनका कारण तराई मधेशसहित सर्लाही जिल्लामा अहिले पानीको हाहाकार हुन थालेको छ ।
सर्लाही जिल्लामा मात्रै ८५ देखि ९० प्रतिशत चापाकलअर्थात कलमा पानी आउन छाडेको छ। घरघरमा कलहरु सुकेर पानी आउन छाडेपछि मानिसहरु कसको घरमा पानी आउँछ भनेर खोज्दै हिड्नुपर्ने बाध्यतामा छन् । एक बाल्टीन पानीको खोजीमा भौतारिनुपर्ने अवस्था आएपछिविषेशगरि स्थानीय गृहणी महिला समस्यामा परेका छन्।
अत्यधिक गर्मिसँगै हरेक घरमा खानेपानीका लागि जडान गरिएको कलहरु सुकेपछि कहाँबाट पानी ल्याउने भनेर स्थानीयलाई चिन्ताले सताउने गरेको छ । पानीको अभावमा गाउँघरका बासिन्दाहरु जसोतसो खाना पकाउने र पिउनेसम्म जोहो गर्छन् । थामी नसक्नु गर्मि हुँदा पनि पानी अभावका कारणसरसफाईमा पनि समस्या भएको छ ।
सर्लाही जिल्लाको पुर्वी क्षेत्र पर्सा गाउँपालिकादेखि पश्चिम बागमती नदी किनारको बलरा नगरपालिका सम्मका क्षेत्रमा पर्ने नदी नाला, इनार र कलहरु सुकि रहेको अवस्था छ ।यतिबेला तराई मधेसमा धानको रोपाइँको पनि चटारो छ। रोपाइको लागि आकाशे पानीको पर्खाइमा बसेका किसानहरु सोचे अनुरुपको पानी नपरेपछि समस्यामा छन् ।
नदी,नहर,पोखरी र तलाउमा समेत पानी सुकिसकेकोले जसोतसो पम्पिसेटबाट पानी निकालेर खेत रोपाइँ गरिरहेका छन् ।पम्पीसेटबाट पानी निकालेर रोपाइँ गर्दा खर्च बढेर लगानी समेत नउठ्ने किसानहरु बताउँछन् ।असाढको अन्तिमसम्म रोपाइँ सम्पन्न भइसक्नु पर्नेमा साउन महिना लागिसक्दा पनि सर्लाहीमा सोचे अनुरुपको रोपाइँ हुन सकेको छैन् ।
चरम गर्मी तथा खडेरीका कारण पानीको मुहानहरु सुक्न थालेपछि खानेपानीको समस्याबाट स्थानीयबासीलाई तत्कालै निकाल्न सर्लाहीको पर्सा गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट आफ्नो प्रत्येक वडामा डिप बोरिङ गरि हैण्ड पाइप तथा मोटरयुक्त समरसिवल जडान गर्न सुरु गरिसकेको छ।यससँगै पुराना इनारहरुको मर्मत तथा सरसफाइ लगायत विभिन्न राहतका कार्यहरुहरु पनि गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
वन जंगल विनाशका कारण पर्यावरणमा परेको असरले गर्दा पानीको स्रोत सुक्न थालेकाले यस्तो समस्या उत्पन्न भएको जानकारहरुको भनाइ छ । जसको चपेटामा आम नागरिक परेका छन् ।


प्रतिक्रिया