काठमाडौँ — भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनालाई लिएर चौतर्फी आलोचना भईरहेको छ । जातीय हिंसा भइरहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यसको चर्चा र आलोचना विश्वभर नै भईरहेको हो । भारतको एउटा दर्दानक घटना अहिले सञ्चारमाध्यमको मुख्य प्राथमिकतामा परिरहेको छ ।
मणिपुरमा आदिवासी महिलालाई नाङ्गै पारेर गाउँ घुमाइएको तथा सार्वजनिक स्थानमा सामूहिक बलात्कार गरिएको भिडिओ सार्वजनिक भएपछि भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन जारी छ । घटना गत ४ मेमा प्रदेश राजधानी इम्फालबाट ३५ किलोमिटर टाढा कांगपोकपी जिल्लामा भएको थियो । भिडियोबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले आफू चिन्तित भएको बताएको छ । साथै सरकारलाई यसबारे आवश्यक कदम चाल्न निर्देशन दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले १४० करोड भारतीयलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् ।
उनले यस घटनाका दोषीलाई नछोडिने बताए । मेरो हृदय आज पीडाले भरिएको छ, क्रोधले भरिएको छ । मणिपुरको घटना कुनै पनि सभ्य समाजका लागि लज्जास्पद घटना हो । पाप गर्ने कति जना थिए, को थिए, यो आफ्नो ठाउँमा छ । यसले पुरै देशको बेइज्जत भएको छ । १४० करोड भारतीयले लाजले मुख छोप्नुपरेको छ । प्रधानमन्त्री मोदिको भनाई छ ।
२ जना महिलालाई निर्वस्त्र पारेको र एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ४ अभियुक्तलाई प्रहरीले हिरासतमा पठाइएको छ । अर्कातर्फ लोकसभा र राज्यसभामा विपक्षी सांसदहरूले मणिपुर मुद्दाका विषयमा हंगामा मच्चाएका छन् । जसका कारण दुवै सदनका बैठक जुलाई २४ सम्मका लागि स्थगन गरिएको छ । २१ वर्षीया सामूहिक बलात्कार पीडितले भनेकी छन् ‘हामी प्रहरीको गाडीमा थियौँ ।
प्रहरीले हामीलाई बचाउँछन् भन्ने लागेको थियो । ती केटाहरूको भीडले हामी चढेको गाडीलाई घेरे । अनि हामीलाई बाहिर निकालेर शरीरका विभिन्न भागमा छुन थाले । ती केटाहरूले भने– बाँच्न चाहन्छौ भने लुगा फुकाल । हामीले सहयोगका लागि प्रहरीतर्फ र्हेयौँ, तर उनीहरूले मुख अर्कातिर फर्काए । त्यसपछि हामीले आफ्नो ज्यान जोगाउन लुगा फुकाल्यौँ । भारतको मणिपुरमा कुकी र मेइटेई समुदायबीच गत मे ३ देखि युद्ध भइरहेको छ ।
मणिपुर हिंसामा हालसम्म १४२ जनाको मृत्यु भइसकेको छ । झन्डै ६० हजार मानिस घरबारविहीन भएका छन् । बलात्कार गरिएको घटनाका मुख्य अभियुक्त हुइरेम हेरोदास मेइतीको घरमा महिलाहरुले आगो लगाइदिएका छन् । यी महिलाहरू मणिपुरमा दशकौंदेखि सामाजिक आन्दोलन चलाइरहेको मेइटी महिलाहरूको सबैभन्दा बलियो संगठन मीरा पाइबीसँग सम्बन्धित छन् । यो घटनाले सडकदेखि सदन सम्म सरकारको चर्को आलोचना भैईरहेको छ ।


प्रतिक्रिया