समाचार

चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

योहो संवाददाता

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदै छ । चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्त्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदै छन् ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छन् । शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ ।