Breaking

भारतमा टमाटरको मूल्य किलोमा २ सय नाघेपछि नेपालबाट तस्करी

योहो संवाददाता

काठमाडौँ – भारतमा टमाटरको मूल्य आकासिएपछि नेपालबाट अवैध बाटो टमाटर तस्करी हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

भारतको उत्तर प्रदेशसँग जोडिएको सीमा नाकाबाट टमाटर तस्करी भइरहेको बीबीसी हिन्दीले जनाएको छ । भारतमा टमाटरको मूल्य रु २ सय नाघेको छ । सर्वसाधारणको भान्सामा लगान बढे पनि तस्करलाई कमाउने मौका मिल्यो। भारतको भन्सार विभागले हालै ३ हजार ६० किलो टमाटरसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ । नेपालबाट ठूलो मात्रामा टमाटर तस्करले भारत पुर्‍याइरहेको दावी बीबीसीले गरेको छ ।

नेपालगन्जमा टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । सल्यानको कपुरकोटबाट ट्रकमा बोकेर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए । करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको जानकारी उनले दिएका छन् ।

नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसारा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयले पठाउन गाह्रो भएको बताए ।

उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा असारदेखि टमाटरको तस्करी भइरहेको छ । सीमामा टमाटर तस्करी गर्ने एक युवाले भने, ‘नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ रहेकोमा २४ देखि ३८ भारतीय रुपैयाँ पर्छ, नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ ।’

भारतमा महाराजगञ्ज र गोरखपुरको मण्डीमा टमाटर १३० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । टमाटर बुटवलको सुनौल नाकाबाट पनि बाहिरिरहेको बताइएको छ ।

नेपालमा टमाटरको खेती ठूलो मात्रामा हुने भए पनि बजार पाउने गरेको छ । भारतीय बजारमा टमाटरको मूल्य बढेसँगै दुई देशबीच टमाटर तस्करी हुने गरेको बीबीसीले जनाएको छ ।

अहिले टमाटर मात्र नभई बन्दागोभी र काँक्रो पनि तस्करी भइरहेको रिपोर्टमा उल्लेख छ । उत्तर प्रदेशको महाराजगञ्ज जिल्ला नेपाल–भारत सीमासँग जोडिएको छ। यहाँ नेपाल–भारत सीमा करिब ८४ किलोमिटर खुला छ ।