काठमाडौँ — दाङको तुलसीपुरबाट रोल्पाको दलसिङ्गेका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । एक जना घाइते भएका छन् । करेन्ट लाग्दा रोल्पाको दलसिङ्गेका अन्दाजी ७० वर्षका कालुराम डाँगी र त्यही ठाउँका अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको ज्यान गएको घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक रतन शर्माले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको उद्धार गरिएको छ ।
रा १ ख ८३४ नम्बरको बसमा सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया