Breaking

बालेनको घोषणा विमानस्थलमा नेवारी भाषा, चिरिबाबु विद्यलयमै नेवारी भाषा पढाउँदै

योहो संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०८०÷०८१ का लागि स्थानीय तहहरुले नीति तथा कार्र्यक्रम सार्वजनिक गर्न सुरु गरेका छन् । काठमाडौं उपत्यकाका दुई महानगरपालिकाले पनि संवैधानिक व्यवस्थामै टेकेर नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । यि दुई महानगरपालीकाले ल्याएको नीति तथा कार्यक्रम प्रतिष्पर्धात्मक देखिन्छ । असार १० गतेभित्र बजेट ल्याईसक्नुपर्ने कानुनी अड्चनका कारण स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् ।

केही पालिकाले भने बजेट नै सार्वजनिक गरिसकेको छ । काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले बुधबार महानगरको १३ औँ अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन् ।

महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेका साहले आगामी आर्थिक वर्षमा पाँच हजारलाई रोजगारी दिनेदेखि पूर्वसम्झौताविना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नेसम्मका योजना अघि सारेका छन् ।

साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने नीति लिएको छ ।

हराभरा पर्यावरणको नीति लिएको महानगरको अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तीमा एक वडामा एग्रोपुलिङ सुरुवात गर्ने उद्देश्य रहेका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमायात्रुका लागि अब नेपाल भाषामा समेत सूचना प्रवाह गर्ने उल्लेख छ ।

काठमाडौं उपत्यकाको अर्काे महानगरपालिका ललितपुरले पनि आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले तेस्रो अधिवेशनबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् । ललितपुरले बैंकको तर्जुमा गर्ने, नागरिकका गुनासा तत्कालै सम्बोधन गर्नेगरी क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्ने विषयलाई कार्यक्रममा समेटेको छ ।

तीन कक्षासम्म नेपाल भाषामा पढाइ, महानगरभित्रका सडक कम्तीमा दुई वर्षसम्म कुनै पनि निकायलाई खन्न नदिने, बेरोजगारलाई रोजगारी दिइनेलगायत कार्यक्रमलाई ललितपुरले जोड दिएको छ ।हरित र स्वच्छ सहरको अवधारणालाई ध्यान दिँदै महानगरले धुलोरहित सडक र एक वडा एक हरियाली उद्यान निर्माणको नीति लिएको छ ।

ललितपुरका मेयर चिरिबाबु महर्जने आफैमा सरल व्यक्ति हुन् । मेयर भनेको चिरिबाबु जस्तो हुनु पर्छ भन्दै उदाहरण दिने बालेन अहिले प्रतिष्पर्धी भएका छन् । हिजो एक अर्काको सहयोग लिएका बालेन र चिरिबाबुको पछिल्लो गतिविधि भने एक अर्कालाई काउण्टर दिने खालको देखिन्छ । काठमाडौँ महानगरले फुटपाथ व्यवसायीलाई सडक पेटीबाट हटाउँदा ललितपुरले भने सडक छेउमै डोरी टाँगेर व्यवसायीलाई व्यवस्थित गराएका छन् ।

त्यस्तै स्वतन्त्र मेयर बालेनले काठमाडौँ महानगरभित्र दक्षिण भारतीय चलचित्रमा प्रतिबन्ध लगाउँदा दलीय नेतृत्वका चिरिबाबुले भने ललितपुरमा प्रदर्शन गर्न अनुमति दिए । काठमाडौँ र ललितपुरको प्रतिष्पर्धा नीति तथा कार्यक्रममा पनि देखिन्छ ।