काठमाडौँ — भारत भ्रमण नसकिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भएको छ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन सरकारलाई आगामी जुलाई अन्तिम वा अगस्ट फस्ट अर्थात् साउनको १५ गतेतिर भ्रमण हुनसक्ने सन्देश सुनाएर स्वदेश फर्केका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा ५ जेठमा चीन गएको प्रतिनिधिमण्डल फर्केपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले चीनमा सुनाउने सन्देश आफूले प्रधानमन्त्रीसँगै सोधेर गएको बताए ।
गत मंगलबार राति काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोलीले भारत भ्रमणमा जाने दिन बुधबार बिहान बालुवाटारमै गएर प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएको थियो । सापकोटाले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्रीको भ्रमणसँगै बीआरआई अन्तर्गतका योजना सस्तो ब्याजमा बनाउने मात्र होइन केही योजना अनुदानमा दिन आग्रह गरेको पनि बताए । जवाफमा त्यहाँका मन्त्रीहरूले माथि अर्थात् पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जीन फिङसँग कुरा राख्ने बताएको उल्लेख गर्दै यसलाई सकरात्मक रूपमा लिएको बताए ।
अन्तराष्ट्रिय व्पायारिक नाकाहरू खोल्ने वा खुलेका नाकालाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको उल्लेख गर्दै उनले केरुङ, तातोपानी, कोरला, लोमान्थाङ्का र यारी नाकाबारे एक एक गरी छलफल गरेको र सुचारु गर्न चीन तयार रहेको दाबी गरेका छन् । आफ्नो भ्रमणका क्रममा चीनले नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा पनि चासो राखेको बताए । चीनले नेपालका कम्युनिष्ट्र पार्टी एक भइदिए हुन्थ्यो भन्ने चाहेको तर दबाब भने नदिएको सापकोटाको भनाइ छ । भ्रमणका क्रममा नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धलाई थप सुदृढ गर्ने, दुई देशबीचमा भएका सहयोग आदानप्रसाद गर्नेबारेमा पनि छलफल भएको बताए।


प्रतिक्रिया