काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच ७ वटा मुख्यसम्झौतामा हस्ताक्षर भएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी भएका विषयबारे जानकारी गराइएको हो ।
आफ्नो चार दिने भारत भ्रमणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हैदराबाद हाउस पुगेर भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे ।बिहान महात्मा गान्धिको समाधिस्तरमा पुष्पगुच्छा अर्पण गरेर हैदराबाद हाउस पुगेका उनलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए । त्यसलगत्तै देशबीच विभिन्न सम्झौताहरुमा हस्ताक्षरसमेत भएको छ । भेटवार्तापछि पत्रकार सम्मेलनमार्फत ७ वटा मुख्य सम्झौतामा हस्ताक्षर भएको जानकारी गराईएको हो ।
भारत भ्रमणको क्रममा १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारीपत्र आदानप्रदान गरेका हुन् । समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ ।
त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारीसमेत भएको छ ।मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नयाँ प्रोजेक्टको उद्घाटनसमेत भएको छ । १० सेप्टेम्बर २०१९ मा नै निर्माण सम्पन्न भई डिटेल पास भइसकेको उक्त पाइपलाइनबाट तीन वर्षमा २.८ मिलियन किलोलिटर पेट्रोलियम पदार्थ पम्प भएको छ । जसबाट ठूलो परिणाममा पेट्रोलियम ढुवानी खर्च बचत हुन पुगेको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतसम्बन्धी दुईवटा सम्झौता भएका छन् । दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ । भारत भ्रमण जानुभन्दा अघिल्लो दिन बसेको लगानी बोर्डको बैठकले यो आयोजना निर्माणका लागि भारतसँग पीडीए गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै बिहीबार नै भारतीय पक्ष र नेपाली पक्षबीच फुकोट कर्णाली जलविद्युत आयोजनाको द्वीपक्षीय सम्झौता भएको छ । ४८० मेगावाट क्षमताको आयोजना विकासका लागि भारतीय पक्ष राजी भएसँगै यससम्बन्धी सम्झौता भएको हो । हैदराबाद हाउसमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणासमेत गरेका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्डले सीमा समस्या समाधानको विषय पनि उठान गरेका छन् । लगत्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने र दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने प्रतिवद्धता जनाए ।
भारत भ्रमणका क्रममा बुहप्रतिक्षित हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति भने हुन सकेन । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमतिमा आउन नसकेपछि अरु मुख्य७ वटा विषयमा मात्र सम्झौता भएको हो । नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर यसमा ठोस सहमति भएन । त्यस्तै पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो ।पञ्चेश्वरको परियोजनाका लागि तीन महिनामा डीपीआर तयार गर्ने दुवै देशका अधिकारीहरुलाई निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
पञ्चेश्वर नेपालले सम्झाइरहने र भारतले बिर्सिइरहने परियोजना योजना हो । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमणका क्रममा यस परियोजनाबारे समकक्षी नरेन्द्र मोदीसँग कुरा गरेका थिए । नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देशको भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठाइन्छ । ९ वर्षअघि पहिलो पटक नेपाल भ्रमणमा आउँदा मोदीले संसद्मा बोल्दै पञ्चेश्वर ५ वर्षभित्र सम्पन्न हुने बताएका थिए ।
पञ्चेश्वर परियोजनामा नेपाल–भारतबीच पानीको भोगचलन र लाभका आधारमा लगानीसहित १२६ विषयमा विमति देखिएको छ । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भविष्यमा दुई देशको मित्रतापूर्ण सम्बन्धलाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्वपूर्ण निर्णयहरु भएको बताएका छन् । आफ्नो सम्बोधनमा मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्धदेखि कनेक्टिभिटीका कुराहरूसमेत उठाएका छन् ।


प्रतिक्रिया