काठमाडौँ — पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । आर्थिक रुपमा समस्याग्रस्त रहेको पाकिस्तान सरकारले यस्तो निणर्य गरेको हो । राजनीतिक अस्थिरताले घेरिएको पाकिस्तान अहिले आर्थिक रुपमा समस्याग्रस्त छ । अर्थशास्त्रीहरुका अनुसार जलवायु परिवर्तन, कोभिड–१९ महामारी, युक्रेनमा जारी युद्व, विश्वव्यापी आर्थिक मन्दी र मुख्यतः आन्तरिक राजनीतिक अदूर्शिताले पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेक्ने अवस्थामा पुर्याएको छ ।
पछिल्लो समय पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इद मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको छ । समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ ।
अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीहरुले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ । विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो ।
विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्र्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो । हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इशाक दारले जवाफ दिनुपरेको थियो ।
विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ । दक्षिण एसियाली राष्ट्र पाकिस्तान पछिल्ला महिनाहरूमा चर्को आर्थिक संकटको सामना गरिरहेको छ । यसअघि दक्षिण एसियाली राष्ट्र श्रीलंकाले भोगेको जस्तै आर्थिक समस्या पाकिस्तानले अहिले भोगिरहेको छ ।


प्रतिक्रिया