काठमाडौँ — नेपाल टेलिकमले ‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको सुरुवात गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ । नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौता पत्र आदान–प्रदान गरे।
सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरिन् । उनले भनिन्, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ। प्रयोगकर्ताहरूले अब नमस्ते पेको क्युआर प्रयोग गरेर बिल तिर्न सक्नुहुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौँ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्णप्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका बारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पेको क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ। यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने छ ।
कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआरमार्फत भुक्तानी गरेवापतआफ्नो वालेटमा १० प्रतिशत क्यास ब्याक पाउने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ।



प्रतिक्रिया