देश

सर्लाहीका ग्रामीण भेगका महिलाहरु व्यवसायिक बन्न थाले, कृषि तथा पशुपंक्षी पालनतर्फ आकर्षित

योहो संवाददाता

काठमाडौँ — चुलो चौको र घरधन्दामा मात्रै सिमित रहने सर्लाहीका ग्रामीण भेगका महिलाहरु व्यवसायिक बन्न थालेका छन् । उनीहरु अहिले व्यवसायीक कृषि तथा पशुपंक्षी पालनतर्फ आकर्षित भइरहेका छन् । घरको कामसँगै विभिन्न पेशा, व्यवसायमा जोडिन थालेपछि उनीहरु पनि पुरुष सरह आत्मनिर्भर बन्न थालेका छन् । सर्लाहीको हरिवन नगरपालिका–२, लालभित्तीकी पद्म कुमारी ठोकरले ७ वर्ष अगाडी ३ वटा भैंसी पालन सुरु गरिन् । अमृता भैसी फर्मको नामबाट भैंसी पालन सुरु गरेकी उनले कोरोना संक्रमणअघि दैनिक ३० देखि ३२ लिटर दूध बिक्री गर्दै आएकी थिइन ।

तर कोरोनाले निम्त्याएको परिस्थितिले उत्पादन भएको दूध बिक्री हुन छाडेपछि उनका श्रीमान साइकलमा राखेर नजिकैको हरिवन बजारमा लगेर बेच्न जाँदा उत्पादन भए जतिको दूध बिक्री नहुँदा त्यतिकै खेर जान थाल्यो । उत्पादन भएको दुध विक्रि नहुँदा ठूलो घाटा सहनु परेका उनले कोरोना संक्रमण कम हुँदै जाँदा अवस्था थप सहज हुँदै गएपछि फर्मलाई थप व्यवस्थित बनाउने योजना बनाइन् । उनले व्यवसायलाई अगाडि बढाउनका लागि केही अनुदान पाउने आसमा सदरमुकाम मलंगवास्थित कृषि कार्यालयमा धेरैपटक धाइन् तर अनुदान पाउन सकिनन् । पछि आफैले पैसाको जोरजाम गरेर व्यवसाय अगाडि बढाइन् ।
ठोकरले दैनिक ४० देखि ४५ लिटर दूध गाउँकै एक डेरीलाई बिक्री गर्दै आएकी छिन् ।

उनको फर्ममा अहिले ३ वटा भैँसी र ३ वटा गाईहरु छन् । विगतमा राजनीतिमा लागेकी ठोकर महिलाहरु पनि आत्मनिर्भर बन्नु पर्छ भन्ने सोंचेर व्यवसायीक गााईभैंसी पालनतिर लागेकी हुन् । अहिले यो व्यवसायबाट राम्रो आम्दानीको साथसाथै आत्मसंतुष्टी पनि मिलेको उनी बताउँछिन् । उनी जस्तै हरिवन नगरपालिका लालभित्तिकी सन्चमाया दोंङ्ग पनि कृषि क्षेत्रमै छिन् । उनको फर्ममा खसी, बाख्रा, गाई र भैंसीहरु गरि १७ वटा पशु चौपायाहरु छन् । उत्पादन भएको दूध गाउँकै डेरीलाई बिक्री गर्ने गरेको र खसी, बाख्रा व्यापारीहरु फर्मै आएर किनेर लाने गरेको दोङ्गले बताइन् ।

आफुले संचालन गरेको फर्मबाटै आएको आम्दानीले घर व्यवहार चलाउनदेखि बालबच्चाको शिक्षामा लगानी गर्न सहज भएको उनी बताउँछिन् । भैँसी, खसी, बाख्रा, बंगुर, हाँस तथा खुखुरा पालन हरिवन लगायत क्षेत्रका गृहणी महिलाहरुका लागि आम्दानीको गतिलो माध्यम बन्दै गएको छ । घरमा बसेर व्यावसायिक पशुपालन गर्न थालेपछि यस क्षेत्रका महिलाको आर्थिक स्थिति पनि सुध्रिएको छ । बजारमा दुधको माग बढिरहेकोले यसतर्फ आकर्षित हुने महिलाहरुको संख्या अझै बढ्दो क्रममा छ । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत गर्नसमेत थालेका छन् ।

तर व्यवसायीक पशुपंक्षी पालनबाट आम्दानी राम्रो भएपनि भइपरी आउने जोखिमबाट भने उनीहरु उम्कन सकिरहेका छैनन् । रोग लागेका चौपायाले समयमा औषधि उपचार पाउन नसक्दा बेलाबखर किसानको लाखौं रुपैयाँको लगानी जोखिममा पर्दै गएको छ । यस्ता समस्यालाई मध्येनजर गर्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र सर्लाहीले विधिवत् रुपमा दर्ता भई संचालनमा रहेका व्यवसायीक फर्मको लागि निःशुल्क उपचारसहित औषधि वितरण कार्यक्रम ल्याएको छ ।

यो कार्यक्रम अनुसार पशु चिकित्सक तथा प्राविधिकको टोली सम्बन्धित फर्ममै गएर पशुपंक्षीको जाँच गरेर निःशुल्क औषधि वितरणको साथसाथै तालिम र परामर्श सेवा प्रदान गर्ने केन्द्रका प्रमुख शंकर साह बताउँछन् । यो कार्यक्रमको सुरुवात विश्व भेटेरिनरी दिवसको अवसर पारेर हरिवन र लालबन्दीमा रहेका केही कृषि तथा पशुपंक्षी फर्ममा औषधि वितरण गरेर गरिएको हो । पशु प्राविधिक तथा चिकित्सकको टोलीबाट फर्ममै औषधि उपचार तथा परामर्श सेवा पाउन थालेपछि किसान महिलाहरु थप उत्साहित बनेका छन् । उनीहरु आफ्नो खुट्टमा आफैं उभिन सक्ने भएका छन्, महिलाहरु चुलोचौकोमा मात्रै सिमित छैनन् भन्ने उदाहरण बनिरहेका छन् ।