विदेश

उत्तर कोरियाले जापानी आकाश हुँदै हान्यो बलिष्टिक क्षेप्यास्त्र


काठमाडौँ — उत्तर कोरियाले जापानको भूमिमाथिबाट ब्यालेस्टिक मिसाइशल परीक्षण गरेको छ । जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट उत्तर कोरियाले आफ्नो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यससँगै जापानको होक्काइडोका मानिसहरुलाई सरकारले चेतावनी जारी गर्दै उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको छ । सन् २०१७ पछि उत्तर कोरियाले जापानमाथि पहिलो पटक मिसाइल प्रहार गरेको हो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको यो कदमको कडा निन्दा गरेका छन् । उनलेउत्तर कोरियाको कदमलाई ‘हिंस्रक व्यवहार’ को संज्ञा दिएका छन् । आफ्नो भूमिमा मिसाइल प्रहार भएपछि जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।

जापान सरकारले यो मिसाइल जापानको करिब ३ हजार किलोमिटरको दूरीमा रहेको प्रशान्त महासागरमा खसेको बताएको छ । दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान साढे सात बजे प्रक्षेपण गरिएको मिसाइल जापानको हवाई क्षेत्र हुँदै समुद्रमा खसेको जनाएको छ । उत्तर कोरियाले एक हप्ताभित्र पाँचौ मिसाइल परीक्षण गरेको हो ।