काठकमडौँ — काठमाण्डौ उपत्यकाबाट दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भीड छ । खासगरी थानकोट र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि बेलुकैसम्म यात्रुहरुको अत्याधिक चाप देखियो । साथै, सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको प्रति यात्रुहरुले आक्रोश समेत पोखेका छन् ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रको भिड हो यो ।
दशैँ मनाउन यतिवेला यात्रुहरु उपत्यका छाड्ने तरखरमा छन् । टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु नयाँ बसपार्क क्षेत्रमा खचाखच देखिन्छन् । तर, एक महिना अघि देखि उपत्यका छाड्ने यात्रुलाई सहजिकरण गर्ने भन्ने रटान लगाएको सरकार केहि चुकेको देखिन्छ । सरकारले मात्र हैन, यातायात व्यावसायीको लापरवाहिले सर्वसाधारणहरुले अझै टिकट पाएका छैनन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे ।
त्यस्तै यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको उनीहरुको भनाइ छ । बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको प्रति आक्रोश समेत व्यक्त गरे ।
त्यस्तै यातायात व्यवसायीहरुले भने न द स्पोट आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरुले यस्तो समस्या निकालिरहेको आरोप लगाए । टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा उनको भनाई छ ।
नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।


प्रतिक्रिया