Breaking

शेखर समूहले चिया‍पान कार्यक्रम, आगामी रणनीतिबारे छलफल हुने


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला समूहले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

बिहान ८ बजेपछि काठमाडौंको बत्तीसपुतलीमा पाक्ने चिया पिउन शेखर कोइराला समूहका नेताहरू भेला हुनेछन् । सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउन माग गरिरहेको शेखर समूहले चियापान कार्यक्रमलाई पनि संघर्षकै हिस्सा बनाएको छ । यस क्रममा आगामी रणनीतिबारे पनि छलफल गरिने सो समूहका एक नेताले बताए ।

ती नेताका अनुसार चियापानलाई ‘दसैँ तिहारको शुभकामना आदानप्रदानसँगै पार्टीको आन्तरिक एकता, समान अवसर र एकताका लागि’ भनिएको छ । चियापानमा शेखर समूहका सबै नेतालाई बोलाइएको छ ।

यसअघि हिजो सानेपामा नेता शेखर र महामन्त्री गगन थापा समर्थित केही नेताले धर्ना दिएका थिए । आज फेरि चियापानको नाम दिएर थप रणनीति तय गर्न शेखर समूहले कार्यक्रम राखेको हो ।