Breaking

काँग्रेसमा बज्यो विद्रोहको घण्टी, देउवालाई शेखर–गगनको खबरदारी, प्रचण्ड–माधवलाई चेतावनी


काठमाडौँ — सत्ता गठबन्धनका दलहरुबीच नै बाँडफाँटको किचलो मच्चिएका बेला काँग्रेसभित्रको व्यवस्थापन देउवाका लागि झन चुनौती बनेको छ । पार्टीको इतरसमूहले भागकै लागि खबरदारी सभामात्रै गरेको छैन, ४० प्रतिशत नपाए विद्रोह गर्ने धम्की दिएको छ । पार्टीको सभापतिमा पदमा पराजयका बावजूद नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट शेखर कोइरालाको राजनीतिक उदयले उनी संस्थापन इतर समूहको मूल खाँबो बनेका छन् ।

तर झण्डै आफुलाई पराजिच गराएका शेखरलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेता नै मानेका छैनन् । भागबण्डादेखि पार्टीको खटनपटनमा शेखर समूहनै पेलानमा परेपछि विद्रोहको तयारी चलेको छ । आसन्न चुनावका लागि निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सूचीमा समेतदेउवा झनै निषेध गरेपछि यो समूह अहिले खबरदारीमा उत्रिएको छ । आफ्नै पार्टीको सभापतिविरुद्ध खबरदारी सभा नै खडा गर्नुले काँग्रेसनिर्वाचनकै मुखमा कचिङगलको भुंग्रोमा फसेको स्पष्टै छ ।

शेखरको खबरदारी सभा मुलतः भाग राजनीतिमा हिस्सा नपाएपछिको आवेग हो । नेतृत्वले समान अवसर नदिएको भन्दै न्यायका लागि खबरदारीमा उत्रिएको नेताहरु बताउँछन् । सत्तागठबन्धनलाई मिलाएर त्यसबाट पाउने हिस्सामा ४० प्रतिशत आफ्ना लागि सुरक्षित हुनुपर्ने र समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनु पर्ने भन्दै उनीहरुले देउवालाई दबाब दिइरहेका छन् । किनकि समानुपातिकको बन्दसूचीमा देउवाले शेखरका मान्छे नराखेपछि कोलाहल झन मच्चिएको छ ।

अब गठबन्धनबाट काँग्रेसले एक सय सिट पाउनुपर्ने र त्यसमध्येको ४० प्रतिशत आफ्नो भागमा आउनुपर्ने शेखर समूहको मागदाबी छ । नत्र विद्रोह गर्नेदेखि देउवाविरुद्ध सडकमा जानेसम्मको धम्की यो समूहले दिइरहेको छ ।

उम्मेदवार सिफारिसमा परेपछि प्रदेश र प्रतिनिधिसभाका आकांक्षीहरुको बास काठमाडौंमै छ । टिकट लिएरै जिल्ला फर्किने तयारीमा रहेका उनीहरुलाई नेतृत्वले व्यवस्थापन नगरे विद्रोह वा अन्तर्घात पक्का देखिन्छ ।तर शेखर समूहमा गनिएका नेताहरु नै टिकटको लागि देउवाको रोजाईमा परेका छैनन् ।

यसैकारण काँग्रेसभित्रै विद्रोहको संकेत गरेका नेताहरुले गठबन्धनमा आवद्ध प्रचण्ड–माधवलाई समेत काँग्रेस भोटले चुनाव जितिन्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।