काठमाडौँ — भारतको हिमाचल प्रदेशस्थित शिम्ला जिल्लाको ठियोगमा टिपरले किचेर एक नेपालीको मृत्यु भएको छ । शनिबार बेलुका करिब ८ बजेको समयमा ठियोग बजारमा टिपरको ठक्करमा परेका उनको किचेर मृत्यु भएको त्यहाँस्थित अखिल भारत–नेपाली एकता मंच हिमाचलका राज्य कमिटी सदस्य प्रेम कार्कीले जानकारी दिए ।
मृत्यु भएको चार दिन वितिसक्दासमेत मृतक नेपालीको पहिचान खुलेको छैन । नाम / ठेगाना केही नखुलेपछि उनको पहिचान नभएको कार्की बताए । मृतकको पहिचान नखुलेपनि हातमा रहेको ट्याटुमा बुढा थर लेखिएको छ । देव्रे हातमा समेत एक महिलाको ट्याटु रहेको छ भने घाँटीमा ओम लेखिएको अर्को ट्याटु छ ।
मगर जस्तो देखिने अुनहार भएका उनले केही समयअघि मात्रै एक नेपाली कामदारलाई आफ्नो घर सुर्खेत रहेको बताएका खुल्न आएको छ । मृतकको साथबाट पहिचान खुल्ने अन्य कुनै समान पनि फेला परेको छैन । मृत्यु भएकै दिन उनी शिम्लाको छायलादेखि गजरीसम्म यात्रा गरेको बस टिकटमात्रै फेला परेको कार्कीले बताए ।
उनलाई ‘एचपी ६३ ए २९३७ नम्बरको टिपरले किचेको थियो । टिपर र चालकलाई अहिले ठियोग प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बारेमा प्रहरीसँग अखिल भारत नेपाली एकता मंचले सहकार्य गरिरहेको छ । मृतकलाई चिन्न सक्ने कोही भए प्रहरी थना ठियोग सम्पर्क गरिदिन एकता मंचले अनुरोध गरेको छ । साथै कार्कीले ७८०७७८३३६०, ७८०७१४११८७१ र ८०९१७६७३३२ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।





प्रतिक्रिया