Breaking

देशभर वर्षाको सम्भावना


काठमाडौँ — आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान पनि मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको जनाएको विभागले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको छ ।