काठमाडौँ — कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । कैलाली क्षेत्र न.५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।
यसअघि २०७४ मा आरजु कैलाली ५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए ।
आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकको कोटा छुट्याइएको छ । त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।


प्रतिक्रिया