राजनीति

जीवनशैली सहज गर्न आर्थिक क्रान्तिको आवश्यक


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । आईतबार काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् ।

सिंहले संविधान अनुरुप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने बताए । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाई छ । नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने मा जोड दिए ।

उनले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सी समेत त्यागेको उल्लेख गर्दै नेता गणेशमान सिंहबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने बताए ।