Breaking

जबरालाई महाभियोग लगाउन बुझाइयो प्रतिवेदन, एमाले र लोसपाको फरक मत


काठमाडौँ — सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

महाभियोग लगाउन सिफारिससहित समितिले सभामुख साकोटालाई प्रतिवेदन बुझाएको हो । समितिका सभापति राम बहादुर विष्टका अनुसार सबै डकुमेन्ट मिलाएर सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने फरक मत राखेको छ । महाअभियोग लगाउन एमाले सांसदले नमानेका हुन् ।

११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको पक्षमा देखिएका छन् भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले फरक मत राखेका छन् ।

बहुमत सत्ता गठबन्धनसँग भएसँगै महाभियोग लगाउने प्रस्ताव गरिएको हो । महाभियोग दर्ता पनि सत्ता गठबन्धनले नै गरेको थियो ।

गत फागुन १ गते महाभियोग दर्ता भएपछि चोलेन्द्र ७ महिनादेखि निलम्बनमा छन्। चोलेन्द्रको सर्वोच्च फर्कने सम्भावना लगभग सकिएको छ ।

महाभियोग सिफारिस समितिले सोधेका ४३ प्रश्नको जवाफ चोलेन्द्रले दिएका थिए । उनको जवाफ शब्दमा उतार्दा १६८ पृष्ठ लामो भएको थियो । सो बयान सबै पढेर प्रत्येक पृष्ठमा चोलेन्द्रले हस्ताक्षर गरेका थिए ।