Breaking

नागरिकता विहिन संघर्ष समितिको माइतिघर मण्डलामा धर्ना


काठमाडौँ — नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहिन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणिकरण गर्नुभएको छैन ।

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकता विहिन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताउनुभयो । उहाँले आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताउनुभयो ।

सरकारले आफुहरुको संविधानसम्मत् मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनुभयो । धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।