काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रश्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुआत गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको समयमा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए ।
खेलकुद विश्वविद्यालयले खेलप्रति युवाको आकर्षण बढ्ने प्रधानमन्त्री देउवाको विश्वास छ । सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ ।


प्रतिक्रिया