काठमाडौँ — बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरु पारित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राख्नुभएको छ भने डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गएपनि भेट नदिएको भन्दै गुनासो गर्नुभयो । उहाँले सांसदहरुलाई बाहिर कुराएर भेट नदिनु राम्रो नभएको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा सांसदहरु जनताको समस्या लिएर गएका हुन्छन् । घण्टौँ सम्म उहाँहरुले बाहिर कुराउनुहुन्छ, भेट दिनुहुन्न ।
भित्र विभिन्न किसिमका मान्छेहरुको आवत–जावत हुन्छ । यसरी सांसदहरुलाई जनताको समस्या लिएर गएका सांसदहरुलाई योखालको व्यवहार हुनु राम्रो हुन्न । म सबै मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधिहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । त्यहाँले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले गरेको पहल जानकारी गराउन पनि माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ ।
डेंगुलाई निराकरण गर्नका लागि खालि पानी जम्न नदिने भनेर मात्रै पुग्दैन । त्यसलाई किटनाशक औषधीहरु छरेर रोग निराकरणका लागि पहल होस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु । मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि के पहल भयो यो सदनमार्फत जानकारी हुनुपर्छ ।’राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताउनु भयो । उहाँले डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले ठगी केसमा संलग्न मानिसलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको समाचार आएको उल्लेख गर्दै उहाँप्रति निलम्वन गरी छानबिन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘भिआईपी कक्षबाट ठगी केसमा संलग्न मान्छेलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको भन्ने चर्चामा आएको छ । तर उहाँलाई निलम्वन गरी छानबिन गरिएको सुन्न पाइएको छैन । सम्बन्धित निकायले यो बारेमा ध्यान देओस् ।’
राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले भाद्र २४ गतेको वर्षाका कारण दार्चुलाको महाकाली नदीमा आएको बाढीमा पाँच जनाको निधन र दश जना बेपत्ता भएको जानकारी दिँदै बाढी पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति दिलाउन माग गर्नुभयो । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बुटवलमा भारतीय सीमाबाट बाबाजीको भेषमा मानिसहरु आएर बच्चा अपहरण गरेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले स्वास्थ्य बीमा गराएपनि सरकारी अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै यसको व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘बाबाजीको भेषमा भारतीय सीमाबाट बुटवल एरियामा धेरै बाबाहरु आएर बच्चाहरु अपहरण गरेको, हराएको अवस्था छ । यो खालको समस्या देशभर होला हामीले कसरी सोच्ने ? ध्यानाकर्षण गराउन चाहन्छु । अर्को विषय, निजी मेडिकलहरुमा बीमा बन्द ग¥यौँ । सरकारी अस्पतालमा औषधि र स्वास्थ्यकर्मीहरुको अभाव छ । नियमित औषधि खाने बिरामीहरुले औषधी छोड्नुभएको अवस्था छ ।
यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले बाढीपहिरो, डेंगु र कोरोनाबाट सिर्जित समस्या समाधानका लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको आगामी बैठक भदौ ३१ गते शुक्रवार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।


प्रतिक्रिया