काठमाडौँ — पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरी उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर लोसपामा राजीनामा दिएको छैन।’ राजीनामा दिने विषयमा भने असोज ३ गते पत्रकार सम्मेलन गरी राजीनामा दिने उनको भनाइ छ ।
अरगरियाले भने, धनुषा क्षेत्र नम्बर २ बाट हजारौंको संख्यामा एमाले पार्टीमा प्रवेश हुनेछ, उनले थपे, लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन् । लोसपा किन छाड्न लाग्नुभएको होरु भन्ने जिज्ञासामा अरगरियाले भने, मधेसी दल एउटा कम्पनी जस्तो मात्र रहेको प्रतिक्रिया दिए । लोसपामा परिवारवाद हाबी भएको गुनासो गर्दै भने उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियाले आरोप लगाए ।
आगामी चुनावका लागि उम्मेदवारमा महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाइँ, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन् । कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय थिए ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरियाले पनि सो पार्टी छाडेका थिए। गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरे । २०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर –२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेको हो ।


प्रतिक्रिया