काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि उक्त बैठक आज बिहान ८ बजे बस्ने तय गरिएको थियो । तर सर्वोच्च अदालतका न्यायाधीशहरू उपस्थित नहुने भएपछि बैठक दिउँसोलाई सारिएको हो ।
निलम्बित प्रधानन्यायाधीश जबराले समितिमा बयानका क्रममा आरोप लगाएका सर्वोच्चका ६ जना न्यायाधीशलाई बोलाएर सोध्ने भन्दै समितिले बुधबार निर्णय गरेको थियो । तर समितिको पत्र सर्वोच्च पुगेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेर समितिले बोलाए पनि बहालवाला न्यायाधीशहरु त्यहाँ जान नमिल्ने निर्णय गर्दै समितिलाई नआउने जानकारी दिएको हो ।
आजको बैठकमा समितिले पूर्वप्रधानन्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको छ । उनीहरूलाई पनि चोलेन्द्रले लाञ्छना लगाएका थिए । यस्तै ३ बजे नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई पनि समितिले सोधपुछ गर्ने भएको छ । चोलेन्द्रले उनीहरुलाई पनि विभिन्न आरोप लगाएका छन् ।


प्रतिक्रिया