काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्नु नहुने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताएका हुन् ।
उनले भने, ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहिनेत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्। यहाँ पोल्टिकल आग्रह, पूर्वाग्रह यहाँभित्र आउनु देश र लोकतन्त्रको लागि राम्रो हुँदैन।’
संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रहरपूर्वाग्रह हुनु नहुने बताए। संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रहरपूर्वाग्रह आउनु भनेको देश र लोकतन्त्रको लागि राम्रो नहुने उल्लेख गरे । विधेयकमा केही शब्दका बारेमा विवाद देखिएको उल्लेख गर्दै त्यसमा जित वा हारतिर नगइ सबैलाई मान्य हुनेगरी अघि बढ्न आवश्यक रहेको बताए ।
‘अरू विषयमा हाम्रा डिबेड हुन सक्लान् । तर यो त यस्तो ऐतिहासिक र युगान्तकारी विषय हो, जुन अन्तर्गत नै हामी संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै आज हामी यो प्रक्रियामा अघि बढेका छौँ । यो आग्रह भन्दा बाहिर हामी सबै जानैपर्छ’ उनले भने, ‘हामीले सहमति बनाएर समाधान गर्ने उद्देश्यले काम गर्ने हो, बल्झाउने उद्देश्यले होइन। हामी कसैले अलिकति एउटा शब्द छिराएर भोलि अफ्ठ्यारो पार्ने भन्ने सोच्यौँ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। नैतिक र राजनैतिक हुँदैन । बैठकमा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएको उल्लेख गर्दै सबैले मिलेर टुंग्याउनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायको विषय टुंग्याउने कुरामा एमालेको साथ र सहयोग सदैव रहने प्रतिवद्धता जनाएका हुन्। उनले संक्रमणकालीन न्यायको विषय निर्विवादित रुपमा सहमतिबाट नै टुंगिनुपर्ने उनको भनाइ छ।
‘यो विषय हामी सबैको साझा विषय हो। यो विषय हामी सबैले टुंग्याउनुपर्ने साझा विषय हो । त्यसमा हामी प्रष्ट छौँ । यो विषयलाई हामी यही पटक टुंग्याउनको लागि लागौँ । हाम्रो त्यसमा साथ सहयोग हुन्छ’ उनले भने, ‘मुलभुत रुपमा सहमति गरेर नै हामी यहाँसम्म आइपुगेका हौँ ।


प्रतिक्रिया