Breaking

चोलेन्द्रले आरोप लगाएका ६ न्यायाधीशलाई संसदीय समितिले बोलायो


काठमाडौँ — महाभियोग सिफारिस समितिले बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ ।

कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको हो ।

महाभियोग लागेर निलम्बिनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा उनीहरुलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो । समितिका सभापति रामबहादुर विष्टले छलफलका लागि बिहीबार बिहान साढे ८ बजे कामु प्रधानन्यायाधीशसहित आरोप लगाएका न्यायाधीशहरुलाई बोलाएको जानकारी दिए ।

यस्तै बिहीबार दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीशहरुलाई पनि समितिले बोलाउने निर्णय गरेको छ । बिहीबार नै दिउँसो ३ बजे सर्वोच्च बार र नेपाल बारका पदाधिकारीसहित चोलेन्द्रले आरोप लगाएका वकिलहरुलाई बोलाउने निर्णय भएको सभापति विष्टले जानकारी दिए।