Breaking

अहिलेको सरकार आपराधिक उद्धेश्यबाट जन्मिएको हो: एमाले अध्यक्ष ओली

योहो संवाददाता

कामठाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धन आपराधिक उद्धेश्यले जन्मिएको आरोप लगाएका छन् । तर उनले कस्तो आपराधिक उद्धेश्य भन्नेबारे खुलाएनन् । उनले भने, ‘अहिलेका सरकार पक्ष गठबन्धन आपराधिक उद्धेश्यका लागि परमादेशबाट जन्मिएको, जनादेशबाट होइन ।’ सरकारले प्रमुख प्रतिपक्षी एमालेप्रति झूटो आरोप, मुद्दा र दमन गरेको आरोप लगाउँदै उनले गत स्थानीय निर्वाचनमा त्यस्तो दृश्य देखिएको बताए । सरकारले राष्ट्रियता खतरामा पुर्‍याएको आरोप लगाउँदै उनले गठबन्धनले लुटतन्त्र चलाएको बताए ।

‘यस्तो सरकार, जसले परराष्ट्र सम्बन्ध बिगारेको छ, राष्ट्रियता खतरामा पुर्‍याएको छ,उनले भने, ‘स्वाधिनता, स्वतन्त्रताको उपयोग गर्ने हिम्मत नै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुट मच्चाउनेबाहेक गठबन्धनको ध्यान नरहेको उनले बताए । सरकारले कुनै पनि काममा जवाफदेही र जिम्मेवारीपन नभएको समेत उनले बताए । देशको अर्थतन्त्र ओरालो लागेका बेला केही व्यापारिक घरानाका प्रतिनिधि राखेर करका दर तोक्ने, सेटिङ मिलाउने र लुटतन्त्र चलाउने गरेको उनको टिप्पणी छ ।

अर्थमन्त्रीमाथि छानबिन गर्दा बहुमतका आडमा छानबिन समितिलाई नै ुपंगुु बनाउने काम भएको उनले बताए । लोकतान्त्रिक तमु संघको पोखरामा मंगलबार आयोजित राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले माधव नेपालको पार्टी अबको निर्वाचनबाट संसदमा पुग्न नसक्ने बताए । ‘माधव नेपालको पार्टीले सिट ल्याएर संसदमा पुग्दैन,’ उनले भने, ‘चुनावसम्म माधव नेपालसँग कार्यकर्ता रहँदैन ।’ मतदाताले नेपालको पार्टीलाई भोट दिन आवश्यक नरहेको समेत उनले बताए ।

माधव नेपाललाई के देखेर, किन, कुन कामका लागि भोट दिने उनले भने, ‘एमालेको सरकार हटाएर काम नलाग्ने भ्रष्ट सरकार बनाइपाम भनेर अदालत गएर परमादेश मागेकाले प्रतिक्रियावादीसँग मिलेर माधव नेपालले एमालेलाई तथानाम गाली गरेबापत उनले भोट नपाउने ओलीको टिप्पणी छ । उनले भने, ‘माधव नेपालले भोट पाउनेवाला छैन, माधव नेपालको पार्टी १ प्रतिशत थ्रेस होल्ड पास गरेर राष्ट्रिय पार्टीका रूपमा आउन सक्दैन ।

देश बर्बाद पार्ने पात्र माधव नेपाल रहेको भन्दै ओलीले कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरे । नेपाललाई एमालेको १५ वर्ष महासचिव आफूले बनाएर टिकाइदिएको र प्रधानमन्त्री बन्दा पनि काम गर्न नसकेर छाडेर भागेको उनको टिप्पणी छ । व्यक्तिगत रूपमा भन्ने हो भने माधव नेपाललाई १५ वर्ष महासचिव बनाएर टिकाएर, प्रधानमन्त्री बनाउँदा आट्न नसकेर, पार्टीलाई रतालमा पुर्‍याएर राजीनामा फालेर भागेको होइन,’ उनले भने, ‘अर्काले गरेको देख्न नसक्ने, ईर्ष्या र डाहा गर्ने । माधव नेपालपछि प्रचण्डप्रति पनि ओलीले उस्तै आक्रामक टिप्पणी गरे ।

जनयुद्धका नाममा हजारौं मानिसलाई अंगभंग, अपांग र हत्या गरेको आरोप लगाउँदै उनले प्रचण्ड राष्ट्रिय समस्या रहेको दोहोर्‍याए । ‘प्रचण्ड भनेको राष्ट्रिय समस्या हो भनेर २०५६ सालमै भनेको थिएँ, अहिले पनि समस्या हो,’ उनले भने, ‘यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा राणा शासन लागू गरेको ओलीले आरोप लगाए । उनले भने, ‘कांग्रेस बेहाल छ, हिजोको कांग्रेस रहेन। फेरि राणा शासन फर्केको जस्तो छ।’