Breaking

कांग्रेसका पूर्व जिल्ला सचिव ओलीलाई स्वागत गर्न विमानस्थल पुगे


काठमाडौँ — नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । सोमबार उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ । यादवले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले कार्यकर्ताका लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी त्याग गर्न लागेको बताए ।

यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उम्मेदवार हुने तयारी गरेका छन् । सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने उनले दाबी गरे ।

यादव नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट धनुषा जिल्ला सभापति पदमा आकांक्षी थिए । उनलाई कांग्रेस नेता विमलेन्द्र निधिनिकट जोगी पञ्जियारले दोस्रो राउण्डमा पराजित गरेका थिए । यसअघि उनी पार्टीका जिल्ला सचिव हुँदै उपसभापति भएका थिए । यादव सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलमा पुगेका छन् ।