Breaking

कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए विद्रोह हुन्छ: कोइराला


काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन् । कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह गरे । पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने उनको भनाइ थियो । बहुमतसहितको सरकार बनाउन ७०र८० सिट लिएर नहुने कोइरालाले बताए ।

उनले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सिट कांग्रेसले पाउनुको विकल्प नरहेको बताए । गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भीड छ, उनले भने, गठबन्धनले कसैलाई जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास छैन र हामीलाई पनि विश्वास छैन ।

कांग्रेसलाई युवा पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनले पाखा लगाउने उनले आग्रह गरे । पार्टी र विचार नबुझेका अवसरवादीहरू पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको कोइरालाको भनाइ थियो ।