देश

भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई दिए चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिकसामग्री


काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिकसामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णय अनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको थियो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने गाडी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाले जनाएको छ ।