देश

योगीकुटी बुटवलबाट मैनहियासम्मको डबल सर्किट प्रसारण लाइनको उद्घाटन


काठमाडौँ — रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी बुटवलबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल(लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छिन् ।

प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।