काठमाडौँ — चक्रे मिलनका नामले कुख्यात मिलन गुरुङ गोरखा क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका छन् । नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले आइतबार उनको नाम सिफारिस गरेको हो । गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको छ । सोही क्षेत्रबाट नेपाल समाजवादी पार्टीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम सिफारिस गरेको छ ।
विवादित छवि भएका चक्रे मिलन काठमाडौं (विशेष गरी ठमेल क्षेत्र)मा गुण्डागर्दी गरेर अकूत धनार्जन गरेको आरोप छ । एमालेको क्षेत्रीय समितिले गोरखा क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछानेको नाम सिफारिस गरेको एमालेका जिल्ला सचिव काजीराम रोकाले बताए ।
समानुपातीक तर्फ क्षेत्र नम्बर १ बाट बिमला चेपाङ र कृष्ण नेपालीको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र क बाट प्रत्यक्षतर्फ गोपाल पाण्डे, सुरेन्द्रबहादुर थापा, नानुमाया थापा, कपिल पोखरेल, बिशाल थापा, काजिराम श्रेष्ठ र देवेन्द्र श्रेष्ठको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ हरिचन्द्र श्रेष्ठ, पम्फा खत्री, रसिया मियाँ, काजिराम रोका र नवराज अधिकारीको नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को ख बाट प्रत्यक्षतर्फ मोहन भट्टराई, आरसी लामिछाने, कृष्ण काप्री, तीर्थ नेपाली, प्रमिला खड्काको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सिफारिस हुनेमा सुरेशबाबु श्रेष्ठ, मीना बराम, टीकानारायण श्रेष्ठ, सन्तबहादुर गुरुङ, जीतबहादुर कुमाल, भीम सुनार, सन्तबहादुर नेपाली रहेका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र क बाट प्रत्यक्षतर्फ राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भिरा बयलकोटीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बसन्त गुरुङ, शान्ति चापागाई, बुद्धिबहादुर घले, बलराम थापा, टिकाराम नेपाली, बिनोदराज पन्त, महेन्द्र तिमिल्सिनालाई सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए । क्षेत्र नम्बर २ प्रदेशसभा ख मा प्रत्यक्षतर्फ कमल दानी, वसन्त गुरुङ र समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।


प्रतिक्रिया