Breaking

चौपट भयो उपेन्द्र–महन्थको राजनीति, देउवा–प्रचण्डको पछि लाग्दा मधेशमै जोखिममा, छैन मुद्धा–छैन भर


काठमाडौँ — राष्ट्रिय राजनीतिमा सहायक शक्तिका रुपमा मात्रै सीमित बनेका मधेशवादी दलहरु अहिले आफै अस्तित्वविहिन छन् ।न उनीहरुसँग मुद्धा छ, न सांगठनिक आधारमा बलिया छन् । बरु बालुवाटारको ढोकैमा बस्नु उनीहरुको नियती जस्तै बनेको छ । मधेशवादी दलहरुमाथिकेही आरोप छन्, उनीहरु स्वार्थका नाममा राजनीति गर्छन, स्वार्थकै लागि एजेन्डा बनाउँछन् र स्वार्थपुरा भए त्यागिदिन्छन् ।

सत्तामा पुग्न पाए आफैलाई स्थापित गर्ने मुद्धालाई पनि मृतप्राय तुल्याउन सक्ने ताकत कसैमा छ भने त्यो मधेशवादी दलहरुमै छ ।किनकि उनीहरु सत्ताका भोगी हुन्, स्वार्थका पोका हुन् । नेपाली राजनीतिमा यस्तै पहिचान बनाएका मधेशवादीहरुमध्ये एउटा अहिले बालुवाटारभित्र छ, अर्काे बालुवाटारको ढोकैमा ढुकिरहेको छ ।एउटा सत्ताको बाँडफाँडमा हिस्सेदार बनेको छ, अर्काे हिस्साकै लागि भागको अनुनय विनय गरिरहेको छ । तथापी मधेश र अबको राजनीतिक कार्यदिशा र चुनावी रणनीतिका विषयमा उनीहरुमा अलमलमात्र देखिन्छन् ।

सत्तागठबन्धनमै आवद्ध रहेको जनता समाजवादी पार्टी (जसपा)को नेतृत्व गरेका उपेन्द्र यादवले गत निर्वाचनमा शक्तिशाली मोर्चाको नेतृत्व गरेका थिए । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादव जस्ता पात्रहरु उपेन्द्रकै मोर्चाको निगरानी गर्थे ।मधेशवादीहरुसँगै जोडिएका बाबुराम भट्टराईसमेत उपेन्द्रकै सहकार्यको रक्षा गरिरहेका थिए । यसले उनीहरुलाई आफ्ना मुद्धा स्थापित गर्ने मौकामात्रै दिएन, परिमाणसमेत उत्साहप्रद आयो । यसले मधेश प्रदेशमा जसपाकै नेतृत्वमा सरकार बन्यो, जुन सबैभन्दा स्थिर सरकारका रुपमा चिनियो ।तर पार्टी एकता भएको बर्षदिनमै महन्थ–राजेन्द्रले लोसपा बनाए । बाबुराम छुट्टीएर नेसपा दलको अध्यक्ष बनेका छन् ।

जुटेको केहीसमयमै टुक्राटुक्रा बनेका उनीहरु अहिले हैसियतविहिनकै अवस्थामा छन् । फेरि विगतकै अभ्यासलाई पछ्याएर मधेशवादीहरुबीच तालमेल गर्दै चुनावमा जाने कि राष्ट्रिय राजनीतिका ठूला दलको फेरो समाएर केही सिटमा खुम्चिने उनीहरुका लागि दुई विकल्प बाँकी रहेका छन् । मधेशवादी दलहरुले संघियता र पूर्णसमानुपातिक समावेशितालाई राजनीतिमा टेक्ने मुद्धा बनाएपनि उनीहरुसँग अहिले न मुद्धा बाँकी छ, न सांगठिक हिसावले बलिया छन् । राष्ट्रिय राजनीतिमा स्थापित ठूलो दलहरुमाथिको कार्यशैलीमा कुण्ठा पोख्नु र स्वार्थ मिले सत्तामा पुगिहाल्नु उनीहरुको नियती बनिरहेको छ ।यसले तराईमा समेत उनीहरुको वर्चश्व गुमिरहेको छ भने ठूला दलहरुले उनीहरुलाई पर्दामात्र प्रयोगको साधन बनाइरहेका छन् ।