Breaking

चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार छ: मन्त्री कार्की


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताउनु भयो । मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारहरुको सुझावका आधारमा नै चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले चलचित्र क्षेत्रलाई थप समृद्ध बनाउन सरकार सदैव तत्पर रहेको बताउनु भयो । मन्त्री कार्कीले भन्नुभयो, ‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन् । चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ ? त्यो भुमिका निर्वाह गर्न सकरार म व्यक्तिगत रुपले पनि तयार छु ।’कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाली कलाकार र प्रविधिकहरुमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्रपनि संसारका सिने उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताउनु भयो । उहाँले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक÷दुई दिन भित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो ।


उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन् । सम्भावनाको ढोकाहरु धेरै छन् । सम्भावनाका ढोकाहरु कनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्नसक्छौँ । नेपाली सिनेमा क्षेत्रपनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिष्पर्धा गर्नसक्छ । नेपाली कलाकार र नेपाली प्राविधिकहरुमा ट्यालेन्टको कुनै कमी छैन । नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । म आएको एक महिना भएको छ । चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो ? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ । चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत यसबाट नै गर्नसक्छौँ । चलचित्र उद्योग आज सायद प्राथमिकतामा छैन तर चलचित्र क्षेत्र आयश्रोतको पहिलो माध्यम हो ।

हामी एकजुट भएर अघि बढौं, खुट्टा तान्ने काम नगरौँ ।’अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत चलचित्र उद्योग बन्ने दाबी गर्नुभयो । उहाँले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताउनु भयो । उहाँले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभइ एकजुट हुन जरुरी रहेको पनि बताउनु भयो ।