काठमाडौँ — श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाय राजपाक्ष स्वदेश फर्किएका छन् । गत जुलाईमा मुलुकमा भएको व्यापक प्रदर्शनपछि देश छाडेर भागेका उनी स्वदेश फर्किएका हुन् । अस्थायी भिसामा थाइल्याण्डमा रहेका उनी सिंगापुर हुँदै स्वदेश फर्किएको बीबीसीले उल्लेख गरेको छ ।
केही श्रीलंकाली मन्त्रीहरुले उनीसँग भेटवार्ता गरेको बताएका छन् । श्रीलंकाका मानिसहरुले उनको सरकारकै कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको अभावको कारण खानेकुरा र इन्धनको भाउ आकाशिएको थियो ।
गत जुलाईमा आन्दोलनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेपछि राजपाक्ष सेनाको विमानबाट माल्दिभ्स पुगेका थिए र त्यहाँबाट सिंगापुर पुगेर राजीनामा पठाएका थिए ।
राजपाक्षको स्वदेश फिर्ती नयाँ सरकारको लागि संवेदनशील विषय हो । नयाँ सरकार अब मुलुकमा थप आन्दोलन नहोस् भन्ने चाहन्छ भने राजपाक्षको सुरक्षा व्यवस्था मिलाउने चुनौती पनि यो सरकारलाई छ ।


प्रतिक्रिया