काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आम निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई परिपत्र जारी गरेको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले भदौ १९ गतेदेखि २१ गतेभित्र उम्मेदवारको सिफारिस पठाउन ८ बुंदे परिपत्र जारी गरेका हुन् । पार्टीको क्षेत्रिय समितिको बैठकबाट प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सहमति भए एक जना र सहमति नभए एक महिलासहित अधिकतम ३/३ जनाको नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
समानुपातिकतर्फ उम्मेदवारको सिफारिस गर्दा महिलालाई प्राथमिकता दिने एवं यथासंभव आदिवासी, जनजाती, खसआर्य, थारु, दलित, मधेशी तथा मुस्लिम अनुसारको कलस्टर बमोजिम नाम पठाउन भनिएको छ ।
अध्यक्ष ठाकुरले जारी गरेको परिपत्रअनुसार उम्मेदवारको नाम भदौ २१ गतेसम्म क्षेत्रिय कमिटीले जिल्ला कमिटीमा पठाइने र जिल्ला कमिटीले २२ गते बैठक बसी आफ्नो राय सुझावसहित २३ गतेसम्म पार्टीको प्रदेश समितिमा पठाउनुपर्ने हुन्छ ।
प्रदेश समितिले प्रदेशभित्रका जिल्लाहरुबाट सिफारिस भई आएका नामावलीहरुमा आफ्नो राय सुझावसहित भदौ २५ गतेसम्म केन्द्रीय कार्यकारिणी समितिमा पठाइनेछ ।


प्रतिक्रिया