Breaking

पहिरोमा परेर आमा छोरीको मृत्यु

योहो संवाददाता

काठमाडौँ — आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए ।

माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए । भेरी नगरपालिका १ मैतेस्थित माइतीमा दर खाएर उनी घर फर्कदै थिइन् । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो ।

आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो। पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो। दुई जनाको मृत्यु भएको र एकको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।