देश

जबराको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण संसदीय समितिलाई पठाईयो


काठमाडौँ — नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लगाइएको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण संसदीय समितिलाई पठाएको छ। बारले जबराविरुद्धको महाअभियोग पुष्टि गर्ने प्रमाण संसदले गठन गरेको महाअभियोग सिफारिस समितिमा आइतवार पठाएको हो। बारले महाअभियोग आरोपसँग सम्बन्धित कागजात र विवरण भन्दै ३५ बुँदे दस्तावेज सिफारिस समितिमा पठाएको हो। भदौ ९ गते महाअभियोग सिफारिस समितिले जबरामाथिको अभियोग पुष्टि गर्ने प्रमाण माग गर्दै बारलाई पत्र पठाएको थियो।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अज्जिता खनालले पठाएको पत्रमा चोलेन्द्रको बहिर्गमन किन भन्ने ५ पेज लामो सामाग्री छ। सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ पनि उपलब्ध गराइएको छ।

उक्त अडिओमा इच्छाराजलाई धरौटीमा छाड्ने र त्यसका लागि प्रधानन्यायाधीश राणालाई पनि मिलाउने र राणाले नै आदेश दिने भनिएको थियो। सर्वोच्च अदालतको भवन निर्माणमा आर्थिक अनियमितताको विषयमा पनि चोलेन्द्रको संलग्नता बारे छानविन गर्न पनि भनेको छ। भवन निर्माणका लागि गठन भएको समिति गठनबाट न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई हटाएर आफैंले ठेक्का दिने निर्णय गरेको बारले जनाएको छ।