देश

त्रिविमा अनेरास्ववियूले ताला खोल्ने बितिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगायो


काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो । त्यसको काउन्टरमा नेकपा एमाले निकट अनेरास्ववियूले नारावाजी गर्‍यो ।
प्रहरी सुरक्षाका बीच बाँस्कोटाले पत्रकार सम्मेलन गरे, त्यसपछि विभिन्न कार्यालयमा लगाइएको तालाबन्दी पनि खुलेको थियो । त्रिवि अनेरास्ववियूका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो । तर नेविसंघले आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि तालाबन्दी गरेको छ ।

नेविसंघका नेता श्याम ओझाले आफूहरुको मञ्जुरीविना तालाबन्दी खोल्नु अनेरास्ववियू र त्रिवि प्रशासनको ठूलो भुल भएको बताए । ‘यसविरुद्ध कडा कदम चाल्छौं’ उनले भने ।परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै नेविसंघले २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनमा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए । विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी तालाबन्दी भइसक्यो’ उनले भने, विश्वविद्यालयमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ, विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् ।

यस्तो अवस्थामा शिक्षक कर्मचारीमा एक किसिमको त्रास रहेको बताउँदै बाँस्कोटाले काम गर्ने वातावरण नभएको जनाएका हुन् । ‘यस्तो परिस्थितिमा स्वतस् विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरु समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ’ बाँस्कोटाले भने, ‘जसले विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको छ । बाँस्कोटाले विश्वविद्यालयमा नेविसंघको एउटा समूह निरन्तर तालबन्दी, धम्की र तोडफोडमा संलग्न रहेका बताए । नेविसंघका कार्यकर्ताहरुले शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए । बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।